मुग्लिन पोखरा सडक विस्तार: पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो
तनहुँ | जेठ २६, २०८२
तनहुँ: मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिनुभयो ।
पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएको छ, भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उहाँले बताउनुभयो ।
यो खण्डमा चार सय २४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उहाँको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उहाँले बताउनुभयो ।
उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उहाँले बताउनुभयो ।
विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो ।
पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यो खण्ड अन्तरगत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म रहेकामा त्यसअवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

